थप १०८१ जनामा कोरोना संक्रमण, ९१८ जना डिस्चार्ज, ६ जनाको मृत्यु

काठमाडौं,भदौ,२४-पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।यो सहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ४९ हजार २१९ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४६४ जना संक्रमित भएका छन् ।काठमाडौंमा ३९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनासहित उपत्यकामा ४६४ जना कोरोना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

बुधबार थप ९१८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ ।नेपालमा कोरोना भाइरसबाट बुधबार थप ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३ पुरुष र ३ जना महिला छन् ।मन्त्रालयका अनुसार काठमाडौंकी ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कास्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३१२ जना रहेको छ ।