चीनले मात्र दियो एक हजार बढीलाई मृत्युदण्ड, १०६ मुलुकमा उन्मूलन

फाईल तस्विर !!

काठमाडौं,असोज,२४-मृत्युदण्डविरुद्धको अन्तर्राष्ट्रिय दिवस (१० अक्टोवर)का सन्दर्भमा विश्वभर अनेकन कार्यक्रमहरु भइरहेका छन् ।यस वर्ष कोभिड–१९ का कारण प्रत्यक्ष कार्यक्रमहरु भने हुन सकेका छैनन् ।

संसारका १०६ मुलुकले संविधान र कानूनबाट मृत्युदण्डलाई उन्मूलन गरे पनि अझै पनि केही ठूला मुलुकहरुमै मृत्युदण्डको प्रावधान रहँदा सबैभन्दा चिन्ता बढेको छ ।

मुलतः विश्व अर्थ व्यवस्थालाई हाँकिरहेका अमेरिका, चीन, भारत जस्ता ठूला मुलुकले मृत्युदण्डलाई कायमै राख्दा मृत्युदण्डविरुद्ध क्रियाशील विश्वका संस्था र व्यक्तिहरु चिन्तित बनेका हुन् ।

गएको वर्ष सन् २०१९ मा पनि यिनै मुलुकहरुले मृत्युदण्ड दिनेमा अगाडी देखिएका छन् । यससम्बन्धि सूचनामै पहुँच नदिने चीनमा एक हजारभन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिइएको जनाइएको छ ।

मृत्युदण्डविरुद्ध विश्वव्यापी रुपमा अभियानरत एम्नेष्टी इन्टरनेशनलका अनुसार चीनले गएको वर्ष एक हजारभन्दा बढी व्यक्तिलाई बिना कुनै निष्पक्ष सुनुवाई मृत्युदण्डको सजायँ दिएको हो ।

एम्नेष्टीले आफ्नो विश्व प्रतिवेदनमा भनेको छ, चीनबाहेक सन् २०१९ मा अरु देशमा जम्मा ६५७ जनालाई मृत्युदण्ड दिइयो । सन् २०१८ को तुलना गर्दा यो ५ प्रतिशतले कमी हो ।

सन् २०१८ मा भने ६९० जनालाई मृत्युदण्डको सजायँ कार्यान्वयन गरिएको थियो । एक दशकयताको रेकर्डमा सन् २०१९ को संख्या सबैभन्दा कम रहेको पनि एम्नेष्टीले जनाएको छ ।

चीनबाहेकको कुरा गर्दा इरान, साउदी अरेबिया, इराक र इजिप्टले कूल मृत्युदण्डको ८६ प्रतिशत ओगटेका छन् । बंगलादेश र बहराइनले सन् २०१९ मा मृत्युदण्ड फेरि लागू गरेका छन् भने अफगानिस्तान, ताइवान र थाइल्याण्डमा मृत्युदण्ड दिइएको नदेखिएको एम्नेष्टीको भनाइ छ ।

सन् २०१९ मा इरानले २५१, इराकले एक सय, साउदी अरेबियाले १८४ जनालाई मृत्युदण्ड दिएका छन् । मध्य अफ्रिकी गणतन्त्र, गुयना, केन्या, जिम्बाब्वे, गाम्बिया, कजाखस्तान, बारबाडोस जस्ता मुलुकले मृत्युदण्डविरुद्धका कानुनी प्रक्रिया अबलम्वन गरेका छन् ।

अमेरिकाका २१ राज्यले मृत्युदण्ड दिन नपाइने कानुन बनाए पनि संघीय सरकार आफैले भने अझै पनि मृत्युदण्ड अन्त्यका लागि कानुन बनाएको छैन । रुस, मलेसिया, ताजिकिस्तान जस्ता मुलुकले पनि कानुनी रोकलाई कायम राखेका छन् ।

सन् २०१९ को अन्त्यमा पुग्दा विश्वका १०६ देशले आफ्नो देशको कानुनबाट मृत्युदण्ड उन्मूलनको घोषणा गरेका छन् । १४२ मुलुकले व्यवहारमा मृत्युदण्ड कार्यान्वयन गरेका छैनन् ।

जबकी सन् १९७७ मा मृत्युदण्डविरुद्धको विश्व अभियान छेड्दा यो संख्या केबल १६ मात्र रहेको थियो, एम्नेष्टी इन्टरनेशनलले भनेको छ ।

वर्ष २०१९ मा २६ हजार ६०४ जना व्यक्ति मृत्युदण्डको पर्खाईमा रहेको तथ्यांक दिँदै एम्नेष्टीले संसारभर घाँटी छिनालेर, विद्युतीय झट्का लगाएर, झुण्ड्याएर, घातक सुईं लगाएर र गोली ठोकेर हत्या गरिएको जनाएको छ ।ईमेज