एकैदिन ४०४७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १११८०२ पुग्यो

काठमाडौं,असोज,२६-नेपालमा सोमवार थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ६४५ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ८३१ जना रहेका छन् । त्यसैगरी संस्थागत आईसोलेशनमा १३ हजार ९२३ जना र होम आईसोलेसनमा १९ हजार ९५७ जना रहेका छन् । मन्त्रालयका अनसार विगत २४ घण्टामा १४ हजार ५३० ओटा पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म कुल ११ लाख ९१ हजार ५१४ ओटा परीक्षण भइसकेको छ  ।

सोमवारमात्रै १ हजार ४७३ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार सोमवार थपिएका नयाँ संक्रमितमध्ये २ हजार २८३ जना काठमाडौं उपत्यकाका रहेका छन् । प्रवक्ता  गौतमका अनुसार काठमाडौं जिल्लाका १ हजार ८८८ जना, ललितपुर जिल्लाका २७७ जना र भक्तपुर जिल्ला ११८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ   ।

सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको बताएका छन् ।
उनले भने, ‘मन्त्रालयको यो निर्णयपछि कोरोना संक्रमित बिरामीहरुले केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा गरेका छौं ।’