सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं,असोज,४-निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतको परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

वीर गोर्खाली अभियान, नेकपा (एमाले) निकट अनेरास्ववियु र १०० ग्रुपमा आबद्ध युवाहरूले प्रदर्शन गर्ने सूचनापछि सर्वोच्च प्रशासनले प्रहरी परिचालन गरेको हो ।

गतवर्ष जबराविरुद्ध नेपाल बारले गरेको प्रदर्शनको विरोधमा १०० ग्रुपले हस्तक्षेप गरेको थियो।यसपालि पनि त्यो हुन सक्ने सूचनापछि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

निलम्बनकै अवस्थामा सर्वोच्च अदालत आएर कार्यभार सम्हाल्ने जबराले प्रयास गर्नुभएको छ ।

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबरामाथि महाभियोग लगाउन ९ आधार र २ सुझावसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएसँगै जबराले भने सर्वोच्च फर्किने सूचना पठाउनुभएको थियो । सर्वोच्च प्रशासनलाई सूचना पठाएर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भएको दाबी गर्नुभएको थियो ।

सर्वोच्चका न्यायाधीश, नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनले जबराको निलम्बित अवस्थामा नै न्यायालयको नेतृत्व सम्हाल्ने भनाइको विरोध गरिरहेका छन् । जबरालाई भने सरकारले सुरक्षाकर्मी परिचालन गरेर बालुवाटारस्थित निवासबाट बाहिर निस्किन दिएको थिएन ।