पूर्वसभामुख कृष्ण बहादुर महरा बिरामी : हिरासत कक्षमै अक्सिजन

महराको बयान दशैं पछि मात्र सुरु हुने

काठमाडौं,असोज,२०-

फाईल तस्विर : पूर्वसभामुख कृष्ण बहादुर महरा

पुर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य समस्या देखिएको छ। प्रहरी स्रोतका अनुसार सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका उहाँलाई उच्च रक्तचापसँगै श्वासप्रश्वासको समस्या दखिएको हो। उहाँलाई हिरासत कक्षमै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरालाई आइतबार साँझ प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो । सोही राति त्रिवि शिक्षण अस्पतालमा महराको स्वास्थ्य परीक्षण गरिएको छ। प्रहरीले उहाँको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गराएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धनबाट यही असोज १२ गते राति तत्कालीन सभामुख महरा तीनकुनेस्थित रोशनीको कोठामा गएको पुष्टि भएको थियो।किटानी जाहेरीपछि प्रहरीले पीडित महिलाको स्वास्थ्य जाँच गरी अनुसन्धान अघि बढाएको हाे।

प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ। तर दुवैको रिपोर्ट आयाे/आएन भन्नेबारे प्रहरीले कुनै जानकारी दिएको छैन।  

यसैबिच : पूर्वसभामुख कृष्णबहादुर महराको बयान दशैँपछि मात्र सुरु हुने भएकाे छ ।अहिले सरकारी वकिलको कार्यालयमा दशैँकाे बिदा रहेको र कार्यालय खुलेपछि मात्रै बयान महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

सरकारी वकिलकाे कार्यालयको दशैँ बिदा २६ गतेसम्म छ । त्यस्तै पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते पनि अदालतमा बिदा दिइएको छ ।

महराको बयान प्रहरी परिसर टेकुले नै लिने एसएसपी उत्तमराज सुवेदीले बताउनुभयो । उहाँका अनुसार महराविरुद्ध जबरजस्ती करणी उद्योग र महिला हिंसामा मुद्दा चलाइनेछ । प्रहरीले अदालतमा मुद्दा दायर गरेमा सांसद पद निलम्बित हुनेछ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद– १८ करणीसम्बन्धी कसुरमा उक्त मुद्दा चल्ने देखिएको छ ।

सो परिच्छेदको दफा २१९ मा ‘जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी’ सजाय तोकिनेछ ।सो दफाको उपदफा २ (ङ) मा ‘१८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म’ सजाय हुने व्यवस्था छ ।

उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिइ करणी गरेमा वा मञ्जुरी लिएर भएपनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ भनिएको छ ।मुलुकी अपराध संहिता अनुसार यो आरोप पुष्टि भएमा भने महरालाई तीन वर्ष ६ महिना वा ५ वर्षसम्म कैद हुनेछ ।