आज महानवमी पर्व : दुर्गा भवानीको पूजा गरिँदै

तलेजु भवानी मन्दिर खुल्ने

काठमाडौं,असोज,२०-

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गाभवानीको पूजा–आराधना गरी बलि दिएर मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गाभवानीको विशेष पूजा–आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।पशुबलि नदिनेले भने आज आ–आफ्नो कुल परम्पराअनुसार कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिइ पायस पनि चढाउने गर्दछन् ।

अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुन्डा देवीले रक्तबीज राक्षसलाई मारेको (वध)ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ । 

यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जंगी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ ।

तलेजु भवानी खुल्ने

फाईल तस्बिर : तलेजु भवानी मन्दिर

हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ ।वर्षमा एक दिनमात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

तलेजु भवानी दर्शन गर्न चाहने भक्तजन आज बिहानै लाममा बस्न जाने गर्छन् । आज लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिइन्छ ।महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने गर्छन् । रासस