निर्वाचनका लागि डेढ लाख बढीको उम्मेदवारी दर्ता

केही स्थानको उम्मेदवारीको विवरण आउन अझै बाँकी

काठमाडौं,बैशाख,१४-स्थानीय निर्वाचनका लागि डेढ लाख भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।केही स्थानको उम्मेदवारीको विवरण आउन अझै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मुख्य पदमा राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । मंगलबार रातिसम्मको तथ्यांक अनुसार ७ सय ५३ स्थानीय तहका करिब ३५ हजार पदका लागि १ लाख ५० हजार ४ सय ९४ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा सहभागिताका लागि दर्ता भएका ७९ दल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबै भन्दा बढी नेकपा एमालेबाट उम्मेदवारी परेको छ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामध्ये प्रमुख पदमा नेकपा एमालेबाट दुई सय ८८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै २ सय ८३ स्थानीय तहमा उपप्रमुख पदमा उम्मेदवारी परेको छ ।

एमालेबाट गाउँपालिका अध्यक्ष पदमा ४ सय ४६ र उपाध्यक्ष पदमा ४ सय ४५ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ दल नेपाली कांग्रेसबाट प्रमुख पदमा दुई सय ६३, उपप्रमुखमा २ सय १०, अध्यक्षमा ३ सय ८२ र उपाध्यक्ष पदमा ३ सय ५९ जनाको उम्मेदवारी परेको छ ।

स्वतन्त्रबाट प्रमुख पदमा १ हजार ३ सय ७६ र अध्यक्ष पदमा १ हजार २४ जनाको उम्मेदवारी परेको आयोगको लगत छ । अधिकांश स्थानबाट उम्मेदवारी दर्ताको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट भइसकेको भएपनि केही स्थानबाट भने विवरण आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।आयोगको ढिलासुस्तीले चुनावी कार्यतालिका प्रभावित हुने त्रास बढेको छ ।