संविधान संशोधन राजपाको मुख्य कार्यसूची

काठमाडौँ,मंसिर,७-

संविधान संशोधनलाई नै मुख्य कार्यसूची बनाएर राष्ट्रिय जनता पार्टी नेपाल राजपाले घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।मधेसको मुद्दा सम्बोधन नगरेसम्म देशले स्थायित्व पाउन नसक्ने भन्दै राजपाले पहिलो चरणको निर्वाचनको तीन दिनअघि घोषणापत्र सार्वजनिक गर्न लागेको हो । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरण अन्तर्गत देशका ३२ जिल्लामा मङ्सिर १० गते मतदान हुँदैछ ।

बिहीबार महोत्तरीको जलेश्वरमा अध्यक्ष मण्डलका सदस्यहरूले एक कार्यक्रमबीच घोषणापत्र सावर्जनिक गर्ने राजपा नेपालले जनाएको छ ।आगामी मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेश २ मा राजपा नेपालका शीर्ष नेताहरू चुनावी प्रचारप्रसारमा व्यस्त रहेको कारण समयमा घोषणापत्र सार्वजनिक हुन नसकेको पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी गराउनुभयो ।

राजपा नेपालले मङ्सिर १० गते हुने पहिलो चरणको चुनावमा पनि विभिन्न ठाउँमा उम्मेदवारी दिएको छ । ती उम्मेदवारहरूले विना घोषणापत्र नै आफ्नो चुनावी प्रचार प्रसार सम्पन्न गरेको छ ।

अब यो घोषणापत्र सार्वजनिक भए पनि पहिलो चरणमा सहभागी उम्मेदवारहरूले प्रयोग गर्न पाउने छैन । मङ्सिर ८ गतेदेखि मौन अवधि सुरु भएपछि कुनै पनि प्रचारप्रसार गर्न पाइने छैन । दोस्रो चरणको मतदान हुने समय १४ दिन बाँकी छ । मङ्सिर १९ गतेदेखि मौन अवधि सुरु भएपछि १२ दिनमात्र सो घोषणापत्र प्रयोगमा ल्याउन सकिन्छ ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादवको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने राजपाका प्रवक्ता कृष्णा सिंहले जानकारी गराउनुभयो । आजको गोरखापत्रमा खबर छ ।