बालकृष्ण ढुंगेलको पक्राउ शान्ति–सम्झौताविरुद्ध भन्दै माओवादी केन्द्रद्वारा तत्काल रिहा गर्न माग

काठमाडौं, कात्तिक,१४-

नेकपा माओवादी केन्द्रले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति–सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भन्नुभयो–‘द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति–सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँलाई तत्काल रिहा गरिनुपर्छ ।

ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने उहाँको भनाइ छ । निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै नेत्री भुसालले शान्तिपूर्ण निर्वाचन कुनैपनि बहानामा बिथोलिन नहुने बताउनुभयो ।

नेपाल प्रहरीको सीआइबीले ढुंगेललाई ललितपुर, सातदोबाटोस्थित उहाँको डेराबाट मंगलबार पक्राउ गरेको थियो । ढुंगेल पहिलो संविधानसभामा ओखलढुंगा–२ बाट निर्वाचित सांसद थिए । उहाँलाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा अदालतले दोषी ठहर्‍याएको थियो । रासस