तराईमा रेल मार्गको निर्माणलाई प्राथमिकतामा राखेको छु :प्रधानमन्त्री

बारा,माघ २९-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न वर्तमान सरकार गम्भीर रहेको बताउनु भएको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरु काठमाडौँ–निजगढ द्रुत मार्ग तथा निर्माणाधीन निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण सम्बन्धमा बाराको निजगढमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा आर्थिक विकास तथा विकास निर्माणको कामलाई वर्तमान सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

आफ्नो भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको कुराकानी कै कारण हुलाकी मार्गको निर्माणको काम सुरु भएको भन्दै प्रधानमन्त्री प्रचण्डले तराईमा रेल मार्गको निर्माणलाई समेत प्राथमिकतामा राखिएको बताउनुभयो ।

आफू प्रधानमन्त्री बनेदेखिनै मेलम्ची खानेपानी, जलाशययुक्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत राष्ट्रिय गौरवका आयोजना अनुगमन गरी समयमै सम्पन्न गर्न निर्देशन दिँदै आएको स्मरण गराउँदै उहाँले राष्ट्रिय महत्वका ठूला आयोजनाहरु सरकार आफैले बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।