पूर्व गृहमन्त्री शर्मा चढेको गाडीमा दुईवटा बम प्रहार

रुकुम,कार्त्तीक,२४-

रुकुम-वाम गठबन्धका उम्मेदवारको गाडीलाई लक्षित गरेर आज दुईवटा बम प्रहार भएका छन् । वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा बिना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८, को गोइरीमा दुईवटा बम प्रहार गरिएको प्रहरीले बताएको छ ।

चौरजहारी नगरपालिकाको चुनावीसभा सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोलीमाथी सडकमाथिबाट बम प्रहार भएको बताइएको छ । सबैभन्दा अगाडिको गाडीलाई छोडेर उम्मेदवार शर्मा चढेको गाडीलाई नै लक्षित गरी बम प्रहार भएको थियो ।

शर्मा चढेको गाडीको अघिल्तिर परेको एउटा बम पड्केन भने अर्काे पड्केको प्रहरीको भनाइ छ । पड्केको पनि सडकमा धेरै धुलोमा परेका कारण धेरै असर नभएको जिल्ला प्रहरी कार्यालयले जानाएको छ ।

उम्मेदवार शर्माले आफ्नै गाडीलाई लक्षित गरी बम प्रहार गरेको बताए । कसैबाट परिचालित मान्छेले त्यस्तो हर्कत गरेको उनको भनाइ छ । प्रहरीले निर्वाचन विरोधी समूहको काम रहेको बताएको छ । तर अहिलेसम्म बम प्रहार गर्नेको बारेमा केही जानकारी आएको छैन् ।

त्यसमा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमुख राजेन्द्रप्रसाद धमलाले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेको आशंका गरिएको छ । केही दिनअघि नेकपाकै कार्यकर्ताले शर्माकै घरमा कालो ब्यानर राखेका थिए । रासस