सभामुख अग्नी सापकोटा अजरबैजान प्रस्थान

काठमाडौं,असार,१४-सभामुख अग्निप्रसाद सापकोटा असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान गर्नुभएको छ ।

अजरबैजान संसदको आयोजनामा असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ।सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठक रहेका छन्।सापकोटासहितको टोलीलाई खानेपानी मन्त्री उमाकान्त चौधरीले विदाइ गर्नुभएको छ ।

अजरबैजानमा हुने कार्यक्रममा सभामुख सापकोटाले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्त्व तथा यो अभियानका पक्ष राष्ट्रहरूका संसदहरूबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

सम्मेलनका क्रममा सभामुखले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ।सापकोटा १९ असारमा स्वदेश फर्कनुहुने छ ।