जापानमा किन महँगो हुन्छ फलफूल ?

एक दाना चेरी ३७ हजार रुपैयाँभन्दा धेरैमा विक्री भयो

Image Not Foundटोकियो,जापान,असार,१४-जापानमा किसानहरुले एउटै फलफूल उमार्न आफूसँग भएको सबै संसाधन प्रयोग गर्छन्।मान्छेले आफ्नो छोराछोरीलाई हुर्काएजस्तै गरी त्यहाँ फलफूलका बोट विरुवा र फल हुर्काइन्छ।किसानहरुले फल उब्जाउन गरेको मेहनतको सम्मान स्वरुप फलफूल महँगो मूल्यमा बेच्ने गरिन्छ । केही फलफूल मौसमी हुन्छन् । खरबुजा र यसका केही प्रजाति गर्मीयाममा मात्रै पाइन्छ भने स्याउ र स्ट्रबेरी जाडोयाममा पाइने फल हुन् ।

यी फलहरु वर्षैभरी नपाइने भएकोले फलप्रेमीहरुले महँगो तिरेर भए पनि किन्छन् । जापानमा फलफूललाई दैनिक स्न्याकका रुपमा खासै प्रयोग गरिदैंन बरु यो कसैलाई ‘इम्प्रेस’ गर्न, कृतज्ञता व्यक्त गर्न वा शुभकामना व्यक्त गर्दै उपहार दिने वस्तुको रुपमा लगाइन्छ । जापानमा फलफूललाई विलासी उपहारको रुपमा लिइन्छ ।

आफन्त, साथीभाई वा व्यवसायिक साझेदारहरुलाई धन्यवाद भन्न महँगा फलफूल उपहारमा दिने चलन छ । निश्चित आकार, रंग, गुलियोपना लगायत मापदन्डभित्र पर्ने फलफूललाई मात्रै उपहारको रुपमा प्रयोग गरिन्छ । 

यहाँ सुन्तला, खरबुजा, हलुवाबेद, स्ट्रबेरी, आरु लगायत फलफूलहरु उपहार दिने लक्जरी वस्तु हुन् । केही दाना फलफूल सिजनमा लिलामीमार्फत हजारौं येनमा विक्री गरिन्छ ।

जापानमा यस्ता महँगा फलफूल खरीद हामीले सुनका गरगहना किने जस्तै हो । जापानमा सस्तो खालको फलफुल नै नपाइने भन्ने होइन । तर निश्चित खालको मापदन्ड पूरा नभएका फलफूलहरु स्थानीय बजारमा सस्तोमा किन्न पाइन्छ ।

यसैबिच : जापानको आओमोरी प्रिफेक्चरमा एउटै चेरी ३७ हजार नेपाली रुपैयाँभन्दा बढी रकममा विक्री भएको छ ।

प्रिफेक्चरको हाचिनोहेमा उत्पादन गरिएको जुनो हर्ट जातको चेरी शनिवार भएको यस वर्षको पहिलो लिलामीमा ४० हजार येन (२९६ डलर अर्थात्  ३७ हजार १९५ नेपाली रुपैयाँ) मा विक्री भएको हो ।

जुन २५ को बिहान भएको लिलामीमा चिल्ला, सिम्रिक रंगका जुनो हर्ट जातका करीब ५० बट्टा चेरी लिलाम विक्रीमा राखिएको थियो । लिलामीमा १५ ओटा आओमोरी हर्टबिट चेरी भएको एउटा बट्टा ६ लाख येनमा विक्री भएको छ । अर्थात् लिलामीमा एक दाना चेरीले नै ४० हजार येन पाएको छ । गत वर्षको लिलामीमा सोही परिमाणका एक बट्टा चेरी ४ लाख ५० हजार येनमा विक्री भएको थियो । अर्थात् गत वर्ष एउटा चेरी ३० हजार येनमा विक्री भएको थियो । 

मुटु आकारका ती चेरी आओमोरी प्रिफेक्चर सम्बद्ध एउटा अनुसन्धान केन्द्रले उत्पादन गरेको हो । यसलाई उपहारका रुपमा दिन सकिने महँगो वस्तुको रुपमा सो केन्द्रले विकास गरेको छ । यो जापानमा फलेको सबैभन्दा ठूलो चेरी मध्ये पर्दछ । २ दशमलव ८ सेमी व्यास र चिनीको मात्रा २० डिग्री भएका चेरी मात्रै जुनो हर्टको मापदन्डमा पर्दछ । जुनो हर्टमध्ये पनि कम्तिमा ३ दशमलव १ सेमी व्यास भएका चेरीलाई मात्रै आओमोरी हर्टबिट् भनिन्छ । 

लिलामीमा चेरी चिबा प्रिफेक्चरस्थित फलफूल तथा तरकारी कम्पनी नागाचुका सेइकाले पाएको थियो । ‘यी चेरीहरु तपाईले अन्य कतै पनि पाउनु हुन्न,’ नागाचुका सेइकाकी अध्यक्ष क्योको नागाचुकाले भनिन् । यी चेरी कम्पनीले चिबा प्रिफेक्चरमा रहेको आफ्नो पसलमा बेच्ने उनले बताएकी छिन् । आर्थीक अभियान/एजेन्सी!!