बालश्रम न्यूनीकरण बारे छलफल

नेपालगंज,बाँके,२२-

बालश्रम न्यूनीकरणका बारेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ मा आज छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युनिसेफ नेपालगन्जको सहयोग तथा बास नेपालगन्जद्धारा संचालीत बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत सो छलफल गरिएको हो ।

कार्यक्रम अन्तरगत वडा नं. १७ मा बाल श्रमीकका रुपमा काम गरिरहेका बालवालिकाहरुको बारेमा बासले संकलन गरेको तथ्यांकका बारेमा बासका उपनिर्देशक हेमराज भट्टले वडा अध्यक्ष अजय पाठक लगायत छलफलमा उपस्थित वडा सदस्यहरुलाई जानकारी गराएका थिए । जानकारी लिए पश्चात अध्यक्ष पाठकले वडा भित्र काम गरिरहेका बालश्रमिकहरुलाई परिवारमा फर्काउन वडा कार्यालय लागि पर्ने बताए ।

छलफलमा श्रमिक बालबालिकाहरुको अवस्था र उनीहरु श्रममा जानुको कारणका बारेमा जानकारी लिन बुधबार श्रमिकबालबालिका र परिवारको अनुगमन गर्ने निर्णय भएको छ । स्थलगत अनुगमन पछि श्रमिकबालबालिकाहरुको पूर्नस्थापनाका लागि पहल गरिनेछ ।

अनुगमन वडा कार्यालयका पदाधिकारी, नेपालगन्ज उपमहानगरपालिकाका प्रतिनिधि, वडा स्तरीय बाल क्लब सञ्जाल र बासले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको छ । छलफल कार्यक्रममा वडा अध्यक्ष अजय पाठक, वडा सदस्यहरु फिरोज, मजिद धोबी, गीता चमार, फौजदार यादब, बासका उपनिर्देशक हेमराज भट्ट, सामाजिक परिचालक शर्मिला थापाको सहभागिता रहेको थियो ।