ओखलढुङ्गामा दोश्रो सामुदायिक वन राष्ट्रिय दिवस मनाईयो

सिर्जना बर्देवा /
ओखलढुंगा,साउन,२६-

ओखलढुङ्गामा पनि विभिन्न कार्यक्रमका साथ दोश्रो सामुदायिक वन राष्ट्रिय दिवस मनाएको छ । यस वर्षको सामुदायिक वन राष्ट्रिय दिवसको नारा “संघियतामा सामुदायिक वन, स्थानीय समुदायको पहिचान” भन्ने रहेको छ ।

यसै मुल नाराका साथ जिल्ला वन कार्यालयको अगुवाईमा श्रावण २४ बाट दोस्रो सामुदायिक वन राष्ट्रिय दिवस मनाउन सुरु गरिएको थियो । दोश्रो सामुदायिक वन राष्ट्रिय दिवसको तिनदिने कार्यक्रम अनुसार कार्यालयले पहिलो दिन पत्रकार सम्मेलन गरी ओखलढुङ्गा जिल्लामा हालको सामुदायिक वनको अवस्था तथा विविध पक्षहरुलाई समेटेर सम्बन्धित विषयमा अन्तरक्रिया गरेको थियो ।

दिवसको अवसरमा दोश्रो दिन खाद्यगोदामबाट जिल्ला समन्वय समितिको कार्यालय सम्म प्रभमतफेरी र प्रभातफेरी पश्चात सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । साथै आज तेस्रो दिन वृक्षारोपण गरेको कार्यालयले जनाएको छ ।

सि.न.पा. ४ स्थित रुम्जाटारमा गत आ.व.मा निर्माण गरिएको ठुलोढिक नगरउद्ययान पार्कमा विभिन्न सजावटका विरुवा रोपिएको जिल्ला वन अधिकृत वीरेन्द्र साहले जानकारी दिनुभयो । साथै जिल्ला वन अधिकृत साहले कुनै एक पक्षको प्रयासले मात्रै वनक्षेत्र संरक्षणको प्रयास सम्भव नरहेको भन्दै साझा प्रयासले मात्रै सामुदायिक वन संरक्षण हुने र सामुदायिक वनमा सबैको पहुँच पु¥याउने लक्ष्य अनुसार जिल्लामा काम भईरहेको समेत बताउन्भयो ।

वि.सं. २०३० साल श्रावण २५ गते सिन्धुपाल्चोकका तत्कालीन जिल्ला वन प्रमुख तेज बहादुर सिं महतले ठोकर्पा पञ्चायतका प्रधानपञ्च निल प्रसाद भण्डारीलाई राष्ट्रिय वनको केहीभाग जिम्मा लगाई संरक्षण तथा सम्बर्धनको जिम्मादिए पश्चात नै नेपालमा सामुदायीक वनको शुरुवात भएको देखिन्छ ।

ओखलढुंगामा अहिले ३ सय ४८ वटा सामुदायिक वन रहेका छन् । २९ हजार ९ सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनबाट जिल्लाका ७८ दशमलब २० प्रतिशत अर्थात ४६ हजार ४ सय ४ घरधुरीका नागरिकहरु लाभान्वित छन् । सामुदायीक वनको पहिचान, राष्ट्रिय सम्बृद्धिको अभियान भन्ने नाराका साथ गत वर्ष पनि अर्थात प्रथम सामुदायीक वन राष्ट्रिय दिवस मनाईएको थियो ।