मेरो सपनामा दलित समुदायको साथ रह्यो : प्रधानमन्त्री दाहाल

काठमाडौं, फागुन १६-  प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सपनामा दलित समुदायको साथ रहेको बताउनु भएको छ । आज बिहान विश्व दलित संगठनका प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्री दाहालले भने, ‘दलित समुदाय राज्यबाट सबै हिसाबले उत्पीडनमा पारिएको समुदाय हो ।

राजतन्त्र र एकात्मक सत्ताले दलितहरुलाई विभेद गर्‍यो, हामीले त्यसका विरुद्ध संघर्ष गर्‍यौं । सबै जाति, क्षेत्र, वर्ग, लिंग र सीमान्तकृत समुदायको अधिकारका पक्षमा दलितहरु खुलेर लागे । संघीय लोकतान्त्रिक गणतन्त्र र सबैको समान अधिकार मेरो सपना थियो, मेरो सपनामा दलितहरुको राम्रो साथ रह्यो ।

विश्वव्यापी रुपमै संगठित भएर दलित अधिकारको पक्षमा आवाज उठाउनु स्वागतयोग्य रहेको भन्दै प्रधानमन्त्री दाहालले नेपाल सरकारले दलितहरुको मुद्दालाई संयुक्त राष्ट्र संघमा प्रभावकारी रुपमा राख्ने जानकारी दिनुभयो ।

भेटमा दलित अगुवाहरुले सीमान्तकृत समुदाय र दलितहरुको पक्षमा प्रधानमन्त्रीले व्यक्तिगत र संस्थागत रुपमा गरेको संघर्ष र संविधानमा लिपिवद्ध अधिकारबारे आफूहरु अवगत रहेको जानकारी गराउँदै दलितका मुद्दाहरुलाई संयुक्त राष्ट्र संघसम्म लगेर नीतिगत परिमार्जनमा सहयोगका लागि आग्रह गरेका थिए ।साभार ईमेज खबरबाट