‘रेल्वे सेवाको नाम ‘नेपाल रेल्वे’ राख्नुपर्छ’

फाईल तस्विर !!

काठमाडौं,असोज,९-राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि दफावार छलफल सुरु गरेको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले विधेयकको प्रस्तावनामा रेल्वेको विकास, विस्तार गरी सुरक्षित, नियमित, भरपर्दो, स्तरीय र प्रभावकारीसँगसँगै गुणस्तरीय सेवा सञ्चालन गर्ने विषयलाईसमेत राख्नुपर्ने बताएका छन् ।

अहिले प्रस्तावित विधेयकमा गुणस्तरीय शब्द राखिएको छैन ।

सांसदहरुले नेपाल रेल्वे बोर्ड स्थापना गरी नेपालमा रेल्वेको विकास र विस्तार गरी सुरक्षित, नियमित, भरपर्दो, प्रभावकारी र गुणस्तरीय रेल्वे सेवा सञ्चालन गर्ने व्यवस्थालाई विधेयकले नै स्पस्ट पार्नुपर्ने बताएका छन् ।

सांसदहरुले सेवा-सुविधा दिन नसक्ने विषयहरुलाई विधेयकमा समावेश गर्न नहुने पनि सांसदहरुले बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले रेल्वे सेवाको नाम ‘नेपाल रेल्वे’ राख्नुपर्ने बताउनुभयो ।

विधेयकमा रेल्वेको सुरक्षाको लागि गठन हुने सुरक्षा इकाईसम्बन्धी विषय, यात्रीको भाडा र मालसमानको ढुवानी महसुल तथा विलम्ब शुल्क आवश्यकता र औचित्यको आधारमा थपघट हुने भएकाले नियमावलीमा समेटनुपर्ने उल्लेख छ ।

तर, सुरक्षा इकाई गठन नहुँदासम्म सरकारले रेल्वेको सुरक्षा गर्नुपर्ने व्यवस्था विधेयकमा छ ।