प्रधानमन्त्रीको भ्याकेट निवेदनमा सर्वोच्चले बोलायो कर्णालीका चार सांसद

काठमाडौं,असार,८-पार्टी ह्वीपविपरित फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको निवेदनमा सर्वोच्च अदालतले दुबै पक्षलाई बोलाएको छ ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलाशले रिट निवेदक र विपक्षीलाई बोलाउन आदेश दिएको हो । झगडिया झिकाई दुबै पक्षको भनाइ सुनिसकेपछि अन्तरिम आदेशलाई निरन्तर गर्ने नगर्ने भन्नेबारे निर्णय हुनेछ ।

कर्णाली प्रदेशका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै महाधिवेशन आयोजक कमिटीको निर्णयबाट कारवाही गरेको थियो ।

कारवाही विरुद्ध चारै जना प्रदेश सांसद सर्वोच्च गएपछि उक्त कारवाही अस्वीकार गर्दै सर्वोच्चले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीसरह मान्यता नहुने आदेश दिएको थियो ।

अदालतको आदेश आफूलाई अस्वीकार्य भन्दै प्रधानमन्त्री ओली भ्याकेटमा गएपछि चार जना प्रदेशसभा सदस्य रिट निवेदक रहेको मुद्दामा उनीहरुलाई सूचना दिनुपर्ने नियमित प्रक्रियाअनुसार यो आदेश जारी भएको सर्वोच्च स्रोतले जनाएको छ ।दुबै पक्षलाई बोलाउने आदेश दिए पनि अर्को पेशी भने तोकिएको छैन ।