प्रेस स्वतन्त्रता सेनानी चाचाजीको नागरिक अभिनन्दनप्रति पेशागत संघ संस्थाको ऐक्यवद्धता

नेपालगन्ज,जेठ,१८-
प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’को नागरिक अभिनन्दनलाई भव्य रुपले सम्पन्न गर्न सक्रिय सहभागिताका लागि बाँकेका पेशागत संघ, संस्थाका प्रमुख एवम् प्रतिनिधिले ऐक्यवद्धता जनाएका छन् । नेपाल प्रेस युनियन बाँकेको संयोजनमा ८९ वर्षिय वरिष्ठ पत्रकार चाचाजीको नागरिक अभिनन्दन यही जेठ २९ गते नेपालगन्जमा हुदैछ ।

युनियनले शुक्रबार नेपालगन्जमा आयोजना गरेको विभिन्न पेशागत संघ, संस्थासंग गरेको छलफलमा उपस्थित भएका प्रमुख एवम् प्रतिनिधिले यस्तो प्रतिवद्धता जनाएका हुन् ।नेपाल बार एशोसियशनका पुर्वकेन्द्रिय उपाध्यक्ष एवम् डिएलएका केन्द्रिय उपाध्यक्ष प्रहलाद कार्कीले पत्रकारिता क्षेत्र र प्रजातान्त्रिक आन्दोलनका योद्दा चाचाजीको सम्मान नै समग्र नेपालगन्जकै सम्मान भएको बताउनुभयो ।

‘चाचाजी यस्तो व्यक्तित्व हुनुहुन्छ, उहाँले आफ्नो जीवनलाई पुरै पत्रकारितामा सर्मपित गर्नुभयो, प्रजातन्त्र प्राप्तिमा सधैं आफुलाई सक्रिय बनाउनुभयो,’ कार्कीले भन्नुभयो ‘यस्तो निस्कलंक व्यक्तित्वलाई नागरिक अभिनन्दन गर्न पाउनु नेपालगन्जबासीका लागि गौरवको कुरा हो ।

नागरिक अभिनन्दनमा नेपालगन्जका कानुन ब्यवसायीको सक्रिय सहभागिता रहने बारका पुर्व केन्द्रिय उपाध्यक्ष कार्कीले प्रतिवद्धता जनाउनुभयो । नेपाल चिकित्सक संघ भेरी अञ्चल अध्यक्ष एवम् सरसफाई अभियन्ता डा. बिनोद कर्णले प्रेस स्वतन्त्रता सेनानी चाचाजीले समाज र राष्ट्रका लागि गरेको योगदान अविष्मरणीय रहेको बताउनुभयो ।

‘चिकित्सक संघ भेरी अञ्चलको अध्यक्षको तर्फबाट म सम्पुर्ण चिकित्सकलाई नागरिक अभिनन्दनमा सक्रिय सहभागिता गराउनेछु, सरसफाई अभियन्ताको हैसियतले त्यो टिमले पनि यस कार्यक्रमलाई सफल पार्न सहकार्य गर्नेछ,’ कर्णले भन्नुभयो ।

सो क्रममा नेपाल टे«ड युनियन कांग्रेस बाँकेका उपाध्यक्ष रुद्र अधिकारी, धम्बोझी माध्यामिक बिद्यालयका प्रधानाध्यापक किरण आचार्य, आर्दश माध्यामिक बिद्यालय राँझाका प्रधानाध्यापक प्रकाश आचार्य, राधिका गिरी, नगर स्तरिय बाल क्लब सञ्जालका पुर्वअध्यक्ष साहिल अन्सारी, रमेशचन्द्र कुमाल लगायतले नागरिक अभिनन्दन कार्यक्रम सफल पार्न ऐक्यवद्धता प्रकट गर्नुभयो ।

युनियन बाँकेका संस्थापक अध्यक्ष समेत रहनु भएका चाचाजीको नागरिक अभिनन्दन सफल पार्न पत्रकार महासंघ बाँके, प्रेस चौतारी, प्रेस सेन्टर बाँके लगायत पत्रकारका विभिन्न संघ, संगठनले पनि यसअघि नै प्रतिवद्धता जनाईसकेका छन् । छलफलको सहजीकरण गर्दै युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले नागरिक अभिनन्दन कार्यक्रमलाई सम्पुर्ण पेशाकर्मी, नागरिक समाज, व्यापारी, व्यवसायी लगायत नेपालगन्जबासीले अपनत्व लिनुपर्ने बताउनु भयो ।