निर्वाचन समयभित्रै नभए संसद स्वतः पुनःस्थापना : दाहाल

काठमाडौं, कात्तिक ९-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तोकिएको समयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नभएमा व्यवस्थापिका–संसद स्वतः पुनःस्थापना हुने बताउनु भएको छ ।

लक्ष्मण पन्तले लेखेको ‘आधुनिक नेपालको इतिहास (वि.सं. १७४३–१९५५)’ पुस्तक आज राजधानीमा विमोचन गर्दै अध्यक्ष दाहालले संविधानतः संसदको अवधि आगामी माघ ७ गतेसम्म भएपनि निर्वाचनको मनोनयन प्रक्रिया सुरु भएकाले संसद विघटन भएको तर मंसिर १० र २१ गते तोकिएको निर्वाचन नभएमा स्वतः संसद पुनःस्थापना हुने दाबी गर्नुभयो ।

उहाँले यस विषयमा आजै वाम गठबन्धनले आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो अग्रगामी र परिवर्तनका पक्षधर मिलेको देख्न नचाहने प्रतिगामी तत्वले निर्वाचन प्रक्रिया बिथोल्न सक्छन्, यसमा हामी सबै सचेत हुन आवश्यक छ ।’

अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताको सहमतिमा निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि एउटै सिटमा अलग–अलग मतपत्र छाप्ने प्रक्रिया थालेकाले यसमा कुनै भ्रम नराख्न आग्रह गर्नुभयो ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले इतिहास लेखनमा समाजवादी र प्रगतिशील अवधारणासहित पन्तले पुस्तक लेखेको बताउनुभयो ।

कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माले इतिहासलाई हेर्ने सम्बन्धमा दक्षिणपन्थी वा उग्रवामपन्थी दुवै दृष्टिकोण गलत हुने धारणा राख्नुभयो । कुल ५५८ पृष्ठको सो पुस्तक सो अवधिको महत्वपूर्ण घटनाको समीक्षामा आधारित रहेको छ । रासस