प्रधानमन्त्री ओलीलाई देउवाको जवाफ : हामी सहयोग गर्न सक्दैनौं

ओलीसँगको वार्तालगत्तै देउवा आन्तरिक छलफलमा

फाईल तस्विर ||

काठमाडौं,बैशाख,२२-नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतमा सहयोग गर्न नसक्ने जवाफ दिएको छ।आज प्रधानमन्त्री ओली पार्टीका नेताहरुसहित कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुग्नु भएको थियो ।

उहाँले देउवासँग बैशाख २७ गते संसदमा हुन लागेको मतदानमा आफूलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।त्यसको जवाफमा देउवाले अहिले कांग्रेसले सहयोग गर्न सक्ने अवस्था नरहेको बताउनु भएको थियो ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुसँग नियमित सम्पर्कमा रहेर आफ्नो पक्षमा पारेका ओलीले विश्वासको मतका लागि कांग्रेसको साथ खोजेका हुन्।

उहाँलाई विश्वासको मतका लागि जसपाको एउटा बहुमत पक्षले साथ दिए पुग्ने भएपनि आफ्नै पार्टीभित्रका माधव नेपाल पक्षले विश्वासमा मत दिने/नदिने टुंगो नभएकोले ओली कांग्रेस फकाउन पुगेको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बताउनुभयो ।

छलफलमा प्रधानमन्त्री ओलीले गणतन्त्रका लागिसँगै लडेका दल र नेता भएकाले मिलेर जान आग्रह गर्नु भएको थियो ।’संविधान र लोकतन्त्रिक संस्थाहरुले कमजोर पार्ने काम तपाईले गर्नु भएको छ’, देउवाले जवाफमा भन्नुभयो, ‘त्यसकारण पनि मिलेर जान सकिँदैन।’

छलफलमा कांग्रेस नेताहरुले अहिले सत्ता सहकार्य हुन नसक्ने जवाफ दिएको र अहिले त्यो अवस्था नै नभएको बताएको प्रकाशशरण महतले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री ओली, ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ सहभागी थिए।

कांग्रेसबाट भने सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, उपसभापति विमलेन्द्र निधि, नेता कृष्ण सिटौला र सहमहामन्त्री प्रकाश शरण महत सहभागी थिए।

यसैबिच : प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेतासँगको छलफल लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रको आन्तरिक छलफलमा जुट्नु भएको छ ।

अहिले सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्णबहादुर खड्का, उपसभापति विमलेन्द्र निधि, नेता कृष्ण सिटौला र सहमहामन्त्री प्रकाश शरण महत आन्तरिक छलफलमा छन्।

ओलीसहितका नेताहरुसँग देउवा निवास बुढानीलकण्ठमा डेड घण्टा छलफल भएको थियो।सो छलफलमा विश्वासको मतको पक्षमा सहयोग गर्न ओलीले गरेको आग्रहलाई देउवाले अस्वीकार गर्नुभएको थियो ।