कांग्रेस र माओवादीले समानुपातिकको सूची आज बुझाउँने

काठमाडौं,माघ,२९-

निर्वाचन आयोगले दलहरुलाई प्रतिनिधीसभा सदस्यको समानुपातिक तर्फको नामावली बुझाउन दिएको समय आज सकिने भएपछि दलहरु बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त रहेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेस केन्द्रित दलले बिहान सुचीको टुङगो लगाएर मध्यान्ह आयोगलाई बुझाउने तयारी गरेको नेताहरुले बताएका छन् । समानुपातिकतर्फ कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम र राजपाले ६–६ सिट जितेका छन् ।

यसैबीच, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकले प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित हुने सांसदको नामावलीलाई अन्तिम रुप दिने प्रवक्ता विह्व प्रकास शर्माले बताउनुभयो । प्रवक्ता शर्माले राजनीतिक रुपमा सूची टुंगो लागेपनि प्राविधिक ‘क्लस्टर’ मिलाउन बाँकी रहेकाले बैठक आह्वान गरिएको जानकारी दिनुभयो ।

त्यस्तैः समानुपातिक उम्मेदवारको नामावली टुङ्ग्गो लगाउनु माओवादी केन्द्रको बैठक पनि आज बिहान बस्ने भएको छ । नामावली टुङगो लगाउने जिम्मेवारी पाउनुभएका केन्द्रका अध्यक्ष दाहालले बिहान पार्टीको छलफल आह्वान गर्नुभएको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो । माओवादी केन्द्रको भागमा १७ सिट परेको छ । कस्लाई पठाउने भन्नेबारेमा आज बिहान टुङगो लागे आजै निर्वाचन आयोगमा नामावली बुझाउने भुषालको भनाई छ ।

यता, प्रतिनिधि सभामा समान ६ र ६ सिट पाएका संघीय समाजवादी फोरम र राष्ट्रिय जना पार्टीको आन्तरिक छलफल पनि आज बिहान हुदै छ । आफ्नो भागमा परेको उम्मेदवारको नामावली तय भइसकेपनि अध्यक्षले अन्तिम निर्णय गर्न बाँकी रहेकाले आज बिहान बैठक बसेर टुङ्ग्याउने फोरमका नेता योगेन्द्र यादवले बताउनुभयो । एमालेले भने समानुपातिकतर्फको सूची हिजै आयोगलाई बुझाइसकेको छ । नेपालबाणीबाट