पश्चिम नेपाल भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्जमा

राम सुनाम/

बाँके,पुस,१३-

पश्चिम नेपाल भ्रमणका लागि आज नेपालगन्जमा पूर्वराजा ज्ञानेन्द्र शाह आउनुभएको छ । राजाका समर्थक तथा शुभेच्छुकहरुले राझा विमानस्थलमा भव्य स्वागत गरेका छन । ८ बर्षपछि पूर्वराजा ज्ञानेन्द्र शाह दुई हप्ता लामो मध्य र सुदूरपश्चिम क्षेत्रको अनौपचारिक भ्रमणका लागि अपरान्ह बुद्ध एयरको उडानबाट नेपालगन्ज आइपुग्नुभएको हो ।

पत्नि कोमलसँगै नेपालगन्ज पुग्नु भएका पूर्वराजा ज्ञानेन्द्रलाई समर्थकहरुले फुलमाला लगाएर स्वागत गरे । त्यसक्रममा उनीहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारा समेत लगाएका थिए । मुस्कुराउँदै समर्थक तथा शुभेच्छुकहरुको स्वागत ग्रहण गर्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाह विमानस्थलबाट भुजइँगाउँमा रहेको सोल्टी होटेल जानुभएको छ । पूर्वराजा शाहले सो होटेलको नयाँ बर्ष जनवरी एक तारिखमा उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।

पूर्वराजा शाहको स्वागतका लागि गठित मध्य र सुदूरपश्चिम स्वागत मूल समारोह समितिका संयोजक दीपकबहादुर सिंहका दुई हप्ते बसाइमा उहाँले मध्य र सुदूरपश्चिमका विभिन्न धार्मिक शक्तिपिठहरुको दर्शन गर्ने कार्यक्रम छ । दुई दिनअघि देखि नै होटल सोल्टीलाई सुरक्षा संवेदनशीलताका साथ सुरक्षा निकायले निगरानीमा राखेको छ ।