आज मन्त्रिपरिषद् बैठक बस्दै,मन्त्री हेरफेर गर्ने जसपाको तयारी

काठमाडौं,असार,१४-प्रधानमन्त्री शेरबहादुर देउवाले आज मंगलबार दिउँसो मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ ।

बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो।तर, मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन । त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयले यो बैठकलाई नियमित भनेको छ ।मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने गर्छ ।

यसैविच  :जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । असन्तुष्ट डा. बाबुराम भट्टराई अलग हुने तयारी गरिरहेका बेला अध्यक्ष उपेन्द्र यादव पक्षले भने मन्त्री हरफेरको तयारी गरेको हो ।

अध्यक्ष यादवले सोमबार साँझ कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक छलफल बोलाएका थिए । त्यो भेलामा ३४ मध्ये २० जना उपस्थित थिए ।

बैठकमा नेताहरुबीच मन्त्री हेरफेरबारे छलफल भएको एक कार्यकारी सदस्यले जानकारी दिएका छन् ।चुनावलाई ध्यानमा राखेर मन्त्री हेरफेर गर्ने जसपाको तयारी रहेको छ।