उपाध्यक्षसरहका दाहालले मलाई कार्वाही गर्ने ? प्रधानमन्त्री ओली

फाईल तस्विर !!

काठमाडौं,पुष,६-प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल समूहले आफूलाई कार्वाही गर्ने कुनै अधिकार नभएको जिकीर गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकटका सांसदहरुको भेलामा प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष, संसदीय दलको नेता सबै आफू भएकाले कसैले कार्वाही गर्न नसक्ने दाबी गर्नुभएको हो ।

उहाँले पार्टी एकताका समयमा चित्त नदुखाउन् भनेर दोस्रो अध्यक्ष राखिदिएकाले दाहालको नेतृत्वमा हुने भेलाले आफूलाई कार्वाही गर्नै नसक्ने जिकीर गर्नुभयो ।

उहाँले ताजा जनादेशमा जाने आफ्नो रहर नभएको पनि पार्टीभित्र घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिएपछि बाध्य भएर नयाँ जनादेशको निर्णय लिएको बताउनुभयो ।

दाहालको चर्को आलोचना गर्नुभएका ओलीले आफूले गरेको संसद विघटन अदालतले पनि उल्ट्याउन नसक्ने दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीको तर्क थियो, ‘संसदको जनादेश भएको प्रधानमन्त्रीले संसद विघटन सिफारिश गरेको हो । ६४ प्रतिशत मतको प्रतिनिधत्व गर्ने प्रधानमन्त्रीले संसद विघटन सिफारिश गरेको हो । अदालतले उल्ट्याउन सक्दैन । ’