चिनियाँ सामानको भाउ नबढ्ने

काठमाडौं,जेठ,१०-चिनियाँ श्रमिकको ज्याला वृद्धि भए पनि त्यसले नेपाली बजारमा कुनै असर नपर्ने भएको छ । चीनका विभिन्न ठूला कम्पनीले श्रमिकको ज्याला बढाएपछि चिनियाँ सामानको भाउ बढ्ने आशंका गरिएको थियो तर अर्थशास्त्रीहरूले त्यसो नहुने बताएका छन् ।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘नेपालमा आउने सामानहरु पहिलो श्रेणीका नहुने भएकाले श्रमिकको ज्यालावृद्धिले नेपाली बजारमा कुनै असर पर्दैन ।’ नेपाल–चीन व्यापारसम्बन्धी एक विज्ञका अनुसार चलन गइसकेका, कमसल, पाना र सेलमा राखिएका सामान नेपाल आउँछन् । जुन अरू सामानको तुलनामा सस्ता हुन्छन् ।

यस्ता सामानमा श्रमिकको ज्यालाले कुनै असर नपर्ने उनको तर्क छ । तलब बढाउनुपर्ने माग गर्दै हडतालमा उत्रिएका फक्सकम कम्पनीका ११ जनाले आत्महत्या गरेपछि उसले ७० प्रतिशत तलब वृद्धि गरेको छ ।

त्यस्तै होन्डाले हडताल रोक्न र कामदारलाई काममा फर्काउन २४ प्रतिशत तलब बढाउनु परेको थियो । ताइवानको ह्यान्डसेट कम्पोनेन्ट मेकर मेरी इलेक्ट्रिक कम्पनीले ७ हजार कामदारहरूको सुरुको ज्यालामा १७ प्रतिशतले वृद्धि गरेको छ ।