राजनीतिक दलहरुलाई शान्तिपूर्णरुपमा निर्वाचन गराउन राष्ट्रपतिको आग्रह

काठमाडौं, असोज ३०-

राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ ।

दीपावली तथा छठ पर्वका अवसरमा सोमबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि हुन गइरहेको पहिलो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सबै दल मिलेर सम्पन्न गराउन लाग्नुपर्ने बताउनु भएको हो ।

राष्ट्रपतिसँगको भेटमा सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले निर्वाचनको सफलताको कामना गरेको र पार्टीहरुबीचको एकता हुँदै गरेको सन्दर्भलाई उनले लोकतान्त्रिक अभ्यासभित्रको सकारात्मक पक्षकारुपमा लिएको बताउनुभयो ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सबै शक्ति मिलेर निर्वाचनसम्पन्न गरी संक्रमणकाललाई टुंगोमा पुर्‍याउन राष्ट्रपतिबाट आग्रह गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो,

संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा, नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराइसहित ९ दलका नेताहरु सम्मिलित थिए ।

यस्तै, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी पनि सहभागी थिए । रासस