लकडाउन तत्काल अन्त्य हुँदैन : प्रधानमन्त्री

काठमाण्डौं,चैत्र,२९-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिँदै आएको लकडाउन तत्काल अन्त्य नहुने बताउनु भएको छ ।

शनिबार सिंहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले लकडाउन तत्काल नहट्ने र नेपाल-भारत सीमानाकामा अझै कडाइ गरिने बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले भावकु कुरा गरेर नहुँने भन्दै लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ गरिने बताउनुभयो । उहाँले लापरबाही स्वीकार्य नहुने भन्दै संक्रमण फैलिनबाट सबै सचेत हुन अनिवार्य रहेको बताउनुभयो । 

Image may contain: 1 person, sitting and indoor
फाईल तस्विर:प्रधमानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट साभार!

७ वटा प्रदेशका मुख्यमन्त्रीहरुसँग कोरोना नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबार जानकारी लिँदै प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले गरेका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 प्रधानमन्त्री ओलीले लकडाउनमा प्रशासनिक लापरबाही हुन नहुने भन्दै मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनुपर्ने बताउनुभयो । त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाइँमा सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पार्नुभयो।उहाँले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट पार्नुभयो। उहाँले  सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि सबैमा अनुरोध गर्नुभयो ।