नेपालमा एकै दिन १ सय १४ जनामा संक्रमण, संक्रमितको संख्या ८८६ पुग्यो

काठमाडौं,जेठ,१४-नेपालमा बुधबार थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये अधिकांश भारतबाट आएका मानिसहरु हुन् । बुधबारसम्म ५८ हजार २७७ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालय प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो ।कोरोना संक्रमितमध्ये १८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।