राष्ट्रहितविपरीतका निर्णय नयाँ सरकारले खारेज गर्छ : ओली

पोखरा, माघ,१२-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले मुलुकलाई कंगाल बनाउन लागेको आरोप लगाउनु भएको छ ।सामुदायिक रेडियो प्रशारण संघ नेपालको १३औं वार्षिक साधारणसभाको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले कामचलाउ सरकारले गरेका कतिपय निर्णय अनैतिक र जनमतको उपहास भएको बताउनुभयो ।

भावी प्रधानमन्त्रीकारुपमासमेत हेरिएका अध्यक्ष ओलीले संविधान, कानुन र राष्ट्रहितविपरीतका निर्णयहरुलाई आगामी सरकारले खारेज गर्नेसमेत उल्लेख गर्नुभयो । उहाँले नयाँ कर्मचारी भर्ना गर्नुपर्ने बेलामा ६० अर्ब रुपैयाँ खर्च गरेर भएका अनुभवी कर्मचारीलाई स्वेच्छिक अवकाश दिन खोजिएको भन्दै विरोध जनाउनुभयो ।

ओलीले आफू ‘गाई कि त्रिशूल’ गरेर राजनीतिमा नलागेको भन्दै देशको विकास गर्न आएको बताउनुभयो । उहाँलेले संविधान संशोधन भयो भने आफ्ना मुद्दाहरु सकिने डरले मधेसवादी दल त्यसबाट पन्छिन खोजेको आरोप पनि लगाउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नैतिकताका आधारमा देउवा सरकारले राजीनामा दिनुपर्ने जिकिर गर्नुभयो ।

यस्तै, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘कांग्रेस अबको पाँच वर्षका लागि प्रतिपक्षमा बस्छ’ भन्दै ढुक्क भएर सरकार चलाउन तर पद बाँडफाँटमा अल्झेर वाम गठबन्धन नफुटाउन शुभकामना दिनुभयो । कार्यक्रममा देशभरका ३०० भन्दा बढी सामुदायिक रेडियोका प्रतिनिधिको सहभागिता रहेको छ ।ईमेजखबरबाट