एमालेले मधेसीलाई हेप्ने काम गरिरहेको छः देउवा, संविधान संशोधन पास गराएरै छाड्ने दाबी

भैरहवा, चैत, २९-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहाडे र मधेसीवीच झगडा लगाउने षड्यन्त्र भइरहेको भन्दै यसमा सावधान हुन सबैसँग आग्रह गर्नु भएको छ । साथै उहाँले एमालेले पहाडे राष्ट्रवादको कुरा गरेर मधेसीलाई हेपिरहेको देउवाले आरोप लगाउनु भएको हो ।भैरहवामा आज आयोजित चुनावी सभालाई सम्वोधन गर्दै कांग्रेस सभापति देउवाले भन्नुभयो ‘मधेसी पहाडेवीच झगडा गराउने षड्यन्त्र भइरहेको छ, हामीले सावधान हुनुपर्छ ।

एमाले नेताहरुले पहाडे राष्ट्रवाद भन्दै मधेसीलाई हेप्ने काम गरिरहेका छन् ।आज साँझमा सभालाई सम्वोधन गर्दै देउवाले करिब ७ मिनेट बोल्नु भएको थियो । सभामा उहाँले भन्नुभयो एकथरिले मधेसवाद भन्दैछन्, एकथरिले पहाडवाद भन्दैछन् ।कांग्रेस नेता देउवाले नेपाली कांग्रेस मधेसको पार्टी भएको दाबी गर्नुभयो । उहाँले मधेसी र पहाडेवीच एकताको खाँचो रहेको बताउनुभयो । देउवाले भन्नुभयो नेपाली कांग्रेस मधेसको पार्टी हो, कांग्रेस मधेसमै जन्मिएको हो ।

यस्तै कांग्रैस सभापति देउवाले संविधान संशोधन प्रस्ताव पारित भएमा मधेसी जनताको भावनाको कदर हुने बताउनुभयो । उहाँले संशोधन प्रस्ताव पारित गराएरै छाड्ने दाबीसमेत गर्नुभयो ।देउवाले भन्नुभयो हामी संविधान संशोधन गरिरहेका छौं । यसलाई पास गराएरै छाड्नेछौं ।’ संविधान कार्यान्वयन गर्नुपर्ने बताउँदै देउवाले यसका लागि माघ ७ सम्म तीनवटा निर्वाचन हुनैपर्ने बताउनुभयो ।बैशाख ३१ को स्थानीय निर्वाचन हुँदैन कि भनेर शंका भइरहेको भन्दै देउवाले चुनाव हुँदैन कि भन्ने आशंका नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो कसैले पनि चुनाव हुँदैन कि भन्ने शंका नगर्नुहोस । चुनाव हुन्छ, नयाँ संविधानले स्थानीय तहको परिकल्पना गरेपछि सिंहदरबारको अधिकार गाउँमा आएको देउवाले बताउनुभयो । उहाँले भन्नुभयो सिंहदरबारको अधिकार गाउँमा आएको छ । अब बजेट पनि आउँछ, कानून बनाउने अधिकार पनि गाउँमा आएको छ । प्रजातन्त्रलाई कसैबाट खोस्न नदिने पार्टी नेपाली कांग्रेसमात्रै भएको देउवाले दाबी गर्नुभयो ।

स्थानीइ चुनावमा कांग्रेसलाई भोट हाल्न आग्रह गर्दै देउवाले कार्यक्रममा भने( ‘नेपाली कांग्रेस ००७ सालमा राणा शासन ढालेको पार्टी हो । पञ्चायतलाई ढाल्ने पार्टी हो । राजासमेत हटाएर गणतन्त्र ल्याउने पार्टी हो । सुशील कोइरालाको नेतृत्वमा संविधान बनाएको पार्टी हो । कसैलाई प्रजातन्त्र खोस्न नदिने एकमात्र पार्टी कांग्रेस हो । त्यसैले कांग्रेसलाई जिताउनैपर्छ । सभार अनलाई खबरबाट