मिटरब्याजीकाविरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्षले संसद अवरोध गरे : प्रधानमन्त्री दाहाल

काठमाडौं,असार,२०-प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्ष दलले संसद अवरोध गरेको आरोप लगाउनुभएको छ।

बुधबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रिय समितिको प्रथम राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले बुधबार संसदमा मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक पास गर्ने कार्यसूचि रहेको तर प्रतिपक्ष दलले विधेयक पास हुन नदिन पुस्तक विमोचनका बेलाको अभिव्यक्तिलाई बहाना बनाएर सदन अवरोध गर्ने कोशिस गरेको बताउनुभयो।उहाँले पुस्तक विमोचनका बेला आफूले पुस्तकका पात्र २०७२ सालतिर आफूलाई प्रधानमन्त्री बनाउन कहिले नेपालका राजनीतिक दल र कहिले दिल्ली धाउने प्रितम सिंहले भनेको कुरालाई आफूले बोलेको बताउनुभयो।

प्रधानमन्त्री दाहालले केही समयभित्रै माओवादीहरुको एकता निश्चित रहेको बताउनुभयो।उहाँले समाजवादी मोर्चा पनि पार्टी एकता गर्ने उद्देश्यबाट बनेको बताउनुभयो।उहाँले समाजवादी मोर्चालाई देशभर लैजानका लागि बैठक बसेर केही दिनभित्र निर्णय लिने बताउनुभयो।उहाँले आफ्नो साथ छोडेर गएकाहरु पनि प्रचण्डबिना हुँदैन भनेर आउनु खुशीको कुरा भएको बताउनुभयो।

प्रधानमन्त्री दाहालले दाहालको नामबाट देशका सबै वर्गा, समुदाय, जनता समेटिएकाले पुष्पकमल दाहालको नामबाट हस्ताक्षर नगरेको बताउनुभयो।