पूर्वमुख्यसचिव सुवेदीको राजीनामा स्वीकृत

बढी पेन्सन खाने योजना असफल

काठमाडौं,साउन,५-

सरकारले पूर्वमुख्यसचिव सोमलाल सुवेदीको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय खारेज गरेको छ । साथै उहाँको राजीनामा स्वीकृत गरेको छ ।

मन्त्रिपरिषदको आजको बैठकले सुवेदीको राजीनामा स्वीकृत गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

पूर्वमुख्यसचिव सोमलाल सुवेदी

सुवेदी एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकको जागिर खान फिलिपिन्सको मनिला जानु भएको छ ।

तर, थप तीन वर्ष सेवा गरे बराबरको पेन्सन बढाउन उहाँले राजीनामा नदिई आफ्नो पदलाई अतिरिक्त समूहमा राख्नु भएको थियो । यसले उहाँलाई झण्डै ४५ सय रुपैयाँ बढी पेन्सन पाउने थिए ।

यसमा सरकार र प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं सहयोगी भएको भन्दै चर्को आलोचना भएको थियो ।

सांसदहरुले समेत चर्को आलोचना गरेपछि सरकारले सुवेदीको राजीनामा स्वीकार गर्नुका साथै उहाको पदलाई अतिरिक्त समूहमा राख्ने निर्णय पनि खारेज गरेको छ ।