उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गर्यो

जापानको समुद्रमा खस्नुअघि नै तीन टुक्रा

काठमाडौं, भदौ १३/

 उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । यस पटक उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापानको उत्तरी क्षेत्रमाथिबाट गएर समुद्रमा खसेको छ । आज बिहान उत्तर कोरियाले जापानको जमिन माथिबाट जाने गरी मिसाइल प्रहार गरेको हो ।

सुरक्षात्मक चुनौतीका कारण जापानले मिसाइल ध्वस्त पार्नका लागि केही प्रयास नगरेको पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।मिसाइल समुद्रमा खस्नुअघि तीन टुक्रा भएको जनाइएको छ । उत्तर कोरियाले पछिल्लो ८ वर्षमा धेरै प्रकारका धेरै मिसाइल परीक्षण गरिसकेको छ ।

तर जापानको माथिबाट जाने गरी मिसाइल परीक्षण गरेको भने पहिलो पटक भएको जनाइएको छ ।गत शुक्रबार र शनिबार पनि उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट तीनवटा छोटो दूरीका मिसाइल परीक्षण गरेको थियो ।

जापानकै भूक्षेत्र माथिबाट मिसाइल परीक्षण गरिएपछि भने तनाव बढ्ने संकेत देखिएको छ ।उत्तर कोरियालाई जापानले आवश्यक जवाफ दिने जापानको मन्त्रिपरिषदका सचिवले बताएका छन् । (एजेन्सी)