कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्नचिह्न खडा : प्रचण्ड

चितवन, माघ १३-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका पछिल्ला निर्णयले नेपाली कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्नचिह्न खडा भएको बताउनु भएको छ ।

आज प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले कामचलाउ सरकारले दीर्घकालीन महत्व र गम्भीर प्रकृतिका निर्णय धमाधम गर्दा कांग्रेसलाई नै घाटा हुने टिप्पणी गर्नुभयो ।

उहाँले नयाँ बन्ने सरकारले वर्तमान कामचलाउ सरकारले गरेका केही निर्णय उल्टाउनेसमेत बताउनुभयो । अर्को एक फरक प्रसंगमा अध्यक्ष दाहालले नयाँ सरकार गठनअघि नै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्नेगरी काम अघि बढेको बताउनुभयो ।

उहाँले पार्टी एकता ढिलो भएपनि सरकार गठनमा भने ढिलाइ नहुने स्पस्ट पार्नुभयो । सरकारले बाँदरमुढे घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गरेकोमा आपत्ति नभएपनि कामचलाउ सरकारले यस्ता अनावश्यक काम नगरेको राम्रो हुने उहाँको भनाइ थियो । ईमेज खबरबाट