प्रतिनिधिसभा बैठक आज बस्दै,सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौं,फागुन,२२-प्रतिनिधिसभाको बैठक आज आईतबार बस्दैछ।आज बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवायलका महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभयो ।

त्यसअघि विहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

पछिल्लो ६ महिनादेखि सांसदहरूले जनचासोका विषयमा राख्न पाएका छैनन् । नेकपा एमालेको अवरोधका कारण यस अवधिका सबै बैठकहरू निष्प्रभावी बन्दै गएका छन् ।

एमालेले आफूले कारबाही गरिएका १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेको भन्दै लगातार संसद बैठक अवरोध गर्दे आएको छ । यद्यपि महत्त्वपूर्ण भनिएका बजेट, एमसीसी लगायतका विषयहरू भने सरकारले अवरोधकै बीच पारित र अनुमोदन गर्दै गइरहेको छ ।