राष्ट्रपतिद्वारा गोपनीयताको हकसम्बन्धी छुट्टै कानुन बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं, असोज ३०-

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यक्तिगत गोपनीयताको हकसम्बन्धी छुट्टै कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

राष्ट्रिय सूचना आयोगले आज राजधानीमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसले नेपालमा पनि शासन प्रणालीलाई पारदर्शी बनाउने र सुशासन कायम गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।

उनले सरकारका प्रत्येक काम–कारबाहीबारे जानकारी पाउने अधिकार हरेक नागरिकलाई हुने पनि उल्लेख गर्नुभयो । आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हकसँग बाझिएका कानुनलाई अध्यावधिक गर्नुपर्ने बताउनुभयो ।उहाँले राष्ट्रिय सूचना आयोगलाई संवैधानिक हैसियत दिन पनि माग गर्नुभयो ।

उहाँले निर्वाचन आयोगमा दल दर्ता गर्न पेस भएका १० हजार मतदाताको समर्थनयुक्त ‘भेरिफाइड’ विवरणसम्बन्धी सूचना उपलब्ध गराउन आदेश दिइसकेको बताउनुभयो । कार्यक्रममा सूचना अधिकारी, सूचनाको हकका अभियन्ता र सूचना आयोगका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।