बडादशैंको आज तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिंदै

काठमाडौं,असोज,१४-

वडा दशैंको तेस्रो दिन आज पनि घरघरमा दुर्गा भवानीको पूजा गरिदैँछ।नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइदै छ ।देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्नेहरुको भीडभाड छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।काठमाडौं उपत्यकामा रहेका काठमाडौंको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती तथा देशभरका शक्ति पीठहरुमा नवरात्रभर विशेष पूजा आराधना गरिन्छ ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाइने बडादशैंमा नौ दिनसम्म विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।घटस्थापनाका दिन जमरा राखेर नवमीसम्म घरघरमा देवी भवानीको पूजा आराधना गर्दै दुर्गासप्तशती चण्डी पाठ गर्ने चलन छ ।