माओवादी केन्द्रका नेता किराँतीले बोलाए छुट्टै भेला

प्रचण्डलाई ‘भाटे कारवाही’ गर्ने घोषणा (विज्ञप्तिको पुर्ण पाठ सहित)

काठमाडौं,असोज,१८-

माओवादी केन्द्रका नेता गोपाल किराँतीले छुट्टै भेला बोलाएका छन् ।एमाले–माओवादी केन्द्रबीचको एकतालाई माओवादीको विर्सजन भएको भन्दै विरोध गर्दै आएका किराँतीले माओवादी केन्द्र पुर्नगठन गर्ने भन्दै उक्त भेला बोलाएका हुन् ।

बुधबार विज्ञप्ति जारी गर्दै किराँतीले प्रचण्डले माओवादीको राजनीतिक एजेण्डालाई धरापमा पारेर एमालेमा विलय भएको बताएका छन् । “माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूर्नगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु” विज्ञप्तिमा भनिएको छ ।

पार्टी अध्यक्ष प्रचण्डल पार्टीको आधिकारिक लाइनभन्दा बाहिर गएर एमालेसँग आत्मसमर्पण गरेकोले आफूले पार्टीको पुर्नगठन गर्नु आवश्यक भएको किराँतीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा जनयुद्धका राजनीतिक एजेण्ड छोडेको र पहिचान विरोधी भएको सांकेतिक रुपमा अध्यक्ष प्रचण्डलाई चुनावमा भाटे कारवाही गर्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिको पूर्णपाठः

माओवादी क्रान्तिकारीहरु र पहिचान पक्षधर क्रान्तिकारी कमरेडहरुमा गम्भीर आह्वान

१. मार्क्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूर्नगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।

२. पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु ।

३. सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु ।

४. भेला आयोजक समिति गठन अघि एक पटक श्री प्रचण्डसँग वार्ता गरिनेछ ।

५. चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु ।

नयाँ आधारमा माओवादी केन्द्रलाई पूनरगठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु । गोपाल किराँती, सचिवालय सदस्य नेकपा माओवादी केन्द्र ,हाल– आम्चोक गाउँपालिका, भोजपुर । स्रोत : अनलाईन डबली