कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेता छिट्टै निर्वाचन मिति घोषण गर्न सहमत

काठमाडौं, फागुन ८ – सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र छिट्टै चुनावको मिति घोषणा गर्न सहमत भएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र माओवादीका नेताहरुको बैठकले मिति घोषणा गरेर जाने सहमति गरेको हो ।मधेसी मोर्चाले भनेजस्तो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर्ने अवस्था नभएको निष्कर्ष उनीहरुको छ । संविधान संशोधनको विषयलाई पनि सँगै लैजान सकिने नेताहरुको भनाइ छ ।माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले तत्कालै मिति घोषणा गर्नेमा दुई दलबीच सहमति बनेको जानकारी दिए ।

स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन स्वीकारेर मिति घोषणा गर्नेमा नेताहरुले सहमति गरेका हुन् । मिति घोषणाअघि मधेशी मोर्चासँग फेरि छलफल गरी २ नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाइनेबारे निर्णय लिइने नेताहरुले प्रतिक्रिया दिएका छन् ।यसअघि, शनिबार मधेशी मोर्चासँग गरेको बैठकमा मोर्चाले संविधान संशोधन नगरी निर्वाचन घोषणा गरे आफूहरुलाई मान्य नहुने चेतावनी दिएपछि दोहोरो दबाबमा परेका प्रधानमन्त्री दाहाल निर्वाचन घोषणाका लागि सहमति जुटाउने गृहकार्यमा छन् ।

सरकारले आजै मिति घोषणा गर्ने बताइए पनि यसबारे निर्णय लिन मन्त्रिपरिषदको बैठक भोलिका लागि सारिएको छ ।यसै विषयमा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी एमालेसँग पनि छलफल गर्ने बताइएको छ । निर्वाचनको मिति घोषणा नगर्दा पूर्ण रुपमा तयारी थाल्न अप्ठ्यारो परेको भन्दै निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि जेठ १ र २१ को मिति प्रस्ताव गरिसकेको छ ।साभार ईमेजखबरबाट