सीमाबाट फर्काएर १९४ जनालाई परिवारमा मिलन

चितवन, फागुन ८ – माइती नेपालले चितवनको क्षेत्रीय कार्यालयअन्तर्गत बेचबिखनको उद्देश्यले लैजाँदै गरेका १ सय ९४ जनालाई सीमा क्षेत्रबाट फर्काएर परिवारमा पठाएको छ ।गएको एक वर्षमा यसरी उनीहरूलाई घर फर्काइएको माइती नेपाल चितवनका क्षेत्रीय कार्यक्रम संयोजक युवराज दवाडीले जानकारी दिए ।सहजकर्ता, स्वयंसेवक ठाउँठाउँमा परिचालन गरी उनीहरूलाई घर पठाइएको हो ।

एक वर्षमा बेचबिखन हुनबाट १ सय २ जनालाई रोकेको र बेचबिखनमा परेका ३४ जनाको उद्धार गरेको समेत उनले जानकारी दिए ।एक वर्षे अवधिमा दुई हजार १ सय ६४ जनालाई वैदेशिक रोजगारबारे जानकारी गराइएको छ । १३ हजारभन्दा बढी प्रचार सामग्री वितरण गरेको माइती नेपालकी सहजकर्ता जयन्ती खनालको भनाइ छ ।

हराएको भनी माइती नेपालमा खोजीका लागि १ सय ३ जनाको निवेदन परेकोमा ४० जना भेटिएका छन् । घरेलु हिंसामा परेका ४१ घटनामध्ये २४ घटना समाधान भएको माइती नेपालले जनाएको छ ।पछिल्लो समयमा यातायातकर्मीलाई प्रशिक्षण दिएर उनीहरूलाई चेतना दिन थालिएको छ । सार्वजनिक यातायातमा काम गर्ने कर्मचारीले सामान्य ध्यान दिए भने यो बेचबिखन न्यूनीकरण हुनसक्ने भएकाले उनीहरूलाई चेतना दिन थालिएको हो ।साभार ईमेजखबरबाट