आगामी सरकार कांग्रेसको

काठमाडौं, वैशाख ६-

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको समृद्धिको चाहना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताउनु भएको छ ।

 

नेपाल विद्यार्थी संघको ४९औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले देशलाई आर्थिकरुपमा समृद्ध बनाउने जिम्मेवारी सरकारमा रहेको भएपनि प्रतिपक्षको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो ।

उनले आर्थिक समृद्धिको चाहना पूरा गर्न नेपाली कांग्रेस अगाडि बढिसकेको बताउनुभयो ।सरकारमा जानु कुनै नौलो कुरा नभएको भन्दै नेता सिंहले राजनीतिक उपलब्धि संस्थागत गर्न सबै दल मिलेर जानुपर्ने धारणा राख्नुभयो ।

कांग्रेसको नेतृत्व कमजोर हुँदा सिंगो पार्टी कमजोर भएको भन्दै उहाँले नेतृत्व परिवर्तनपछि कांग्रेसले गति लिने दावी गर्नुभयो । कार्यक्रममा नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र आमूल परिवर्तनको खाँचो रहेको औंल्याउनुभयो ।

कांग्रेसलेमात्र मुलकलाई अगाडि बढाउनसक्ने भन्दै उनले आगामी सरकार कांग्रेसको हुने दावीसमेत गर्नुभयो ।नेता कोइरालाले पार्टीलाई सही बाटोमा हिँडाउन नेपाल विद्यार्थी संघले सशक्त भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यार्थी संघका नेताहरुले भने सरकारले विद्यार्थीको मागलाई बेवास्ता गरेको भन्दै विद्यार्थी शक्तिलाई कम नसोच्न चुनौती दिनुभएको हो । ईमेज खबरबाट