भदौ २२ गतेदेखि दसैंको अग्रिम टिकट बुकिङ खुल्ला गरिने

काठमाडाै,भदौ,१६-
दसैंमा घर जाने यात्रुका लागि सरकारले भदौं २२ गतेदेखि लामो र मध्यम दूरीमा चल्ने सवारी साधनको अग्रिम टिकट बुकिङ सुविधा खुल्ला गर्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात व्यवस्था विभाग महानगरीय ट्राफिक प्रहरी परिसर र उपभोक्तावादीबीच आज भएको छलफलमा केही सर्तहरु राखेर भदौं २० गतेदेखि अग्रिम टिकट काट्ने सुविधा खुल्ला गरिएको हो ।

महासंघका कार्यवाहक अध्यक्ष डोलराज खनालका अनुसार केही शर्त राखेर भदौं २२ गतेदेखि अग्रिम बुकिङ खुल्ला गर्ने बिषयमा मौखिक सहमति भएको छ । यातायात व्यवसायीले लामो दूरी र मध्यम दूरीमा यात्रा गर्दा बोक्ने सामान कहाँ राख्ने बिषयमा लामो छलफल भएको थियो ।

यस्तै दसैंमा यात्रुले यात्रा गर्दा अधिकतम २० किलोको सामान मात्र लान पाउने बिषयमा सहमति भएको छ । यो बर्ष दसैंमा उपत्यकाबाट २५ लाख सर्वसाधारणसहित वैदेशिक रोगजारबाट फर्कने करिब तीन लाख र कोरिया भाषासम्बन्धी परीक्षा दिन आउने ४५ हजार सर्वसाधारण बाहिरिने अनुमान गरिएको छ।