एकैदिन काठमाडौंका तीन विद्यालयलाई नयाँ भवन

काठमाण्डौं,पुस,१२-

काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । शुक्रवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो । विहिवार पनि तीन विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको थियो ।

शुक्रवार एकै दिन धर्म विद्याश्रम आधारभूत विद्यालय तारकेश्वर, आत्म विकास आधारभूत विद्यालय बुढानिलकण्ठ र बुढानिलकण्ठ मावि बुढानिलकण्ठलाई नयाँ भवन हस्तान्तरण गरिएको हो । हिजो बिहिवार पनि जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)ले दक्षिणकाली नगरपालिकाका तीन विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरेको थियो ।

धर्म विद्याश्रम आधारभूत विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहराले सामुदायिक विद्यालयमा विद्यार्थी बढाउनुको विकल्प नभएको बताए । इकाईले नयाँ भवन बनाइदिएपछि त्यसमा विद्यार्थी भरेर गुणस्तरीय शिक्षा दिने काम विद्यालयको भएको नगरप्रमुख बोहराले बताए । पुराना शिक्षकबाट नयाँ शिक्षा सम्भव नभएको भन्दै पुराना शिक्षकहरुलाई प्रोत्साहन सहित बाजा बजाएर घरमै पुर्याएर छाड्ने उनले स्पष्ट पारे ।

जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंका इकाई प्रमुख अर्जुन रायमाझीले काठमाडौंमा भूकम्प प्रभावित विद्यालयहरुको पुनर्निर्माणले तिब्रता पाएको बताए । अब कोही पनि बालबालिका अस्थायी टहरामा पढ्न नपर्ने भन्दै रायमाझीले काठमाडौंमा केही समयमै विद्यालय पुनर्निर्माणले पूर्णता पाउने स्पष्ट पारे ।

नयाँ भवनमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिने काम विद्यालयको भएको भन्दै उनले यदि गुणस्तरीय शिक्षा दिन सक्दिन जस्तो लागे पेशा परिवर्तन गर्न शिक्षकहरुसँग आग्रह गरे । ‘अब भवन छैन भनेर बहाना बनाउने छुट छैन’–रायमाझीले भने–‘नयाँ भवन पाएपछि पुरानै शैलीको शिक्षण सिकाइले हुँदैन ।’

शनिवार पनि कंकाली मावि चन्द्रागिरी, कुञ्चिप्वाकल मावि तारकेश्वर र सीतापाइला मावि नागार्जुनलाई नयाँ भवन हस्तान्तरण गरिने रायमाझीले जानकारी दिए ।