काठमाडौंमा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणमा तिब्रता

काठमाडौं,पुस,११-

काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । बिहिवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो ।बिहिवार एकैदिन दक्षिणकाली नगरपालिकाका तीन विद्यालयले नयाँ भवन पाएका हुन् । दक्षिणकाली नगरपालिका वार्ड नम्बर ९ को कालीदेवी आधारभूत विद्यालय, वार्ड नम्बर ८ को श्रीकृष्ण मावि र वार्डनम्बर ५ को डोल्लु आधारभूत विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको हो ।

दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, उप प्रमुख बसन्ती डंगोल तामाङले र जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का इकाई प्रमुख अर्जुन रायमाझीले विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरेका हुन् ।

अस्थायी टहरामा पठन–पाठन गर्दै आएका विद्यालयहरुलाई नयाँ भवन हस्तान्तरण गर्दै नगर प्रमुख मोहन बस्नेतले अब नयाँ भवनमा गुणस्तरीय शिक्षा दिन शिक्षकहरुसँग आग्रह गरे । नगरभित्रका कुल २० विद्यालय मध्ये १३ विद्यालयहरुले नयाँ पक्की भवन पाइसकेको भन्दै उनले अब नयाँ भवनको संरक्षण र त्यसमा विद्यार्थी भराउने जिम्मा नगरपालिकाले लिने प्रतिबद्धता जनाए ।

सामुदायिक विद्यालयहरु नै भौतिकरुपले सुविधा सम्पन्न भइसकेको अवस्थामा अब छोराछोरी गाडीमा चढाएर अन्तै पढ्न नपठाउन अभिभावकसँग आग्रह गर्दै नगर प्रमुख बस्नेतले गुणस्तरीय शिक्षाको जिम्मेवारी नगरले् लिने स्पष्ट पारे ।

सामुदायिक विद्यालयहरुमा सुविधासम्पन्न भवन, शिक्षक दरबन्दी, शिक्षकहरुसँग विभिन्न तालीम रहेको र अबको आवश्यकता गुणस्तरीय शिक्षाको मात्रै रहेको उनको भनाइ थियो । जाडो विदामा नगरले सबै शिक्षकहरुलाई तीन दिने गुणस्तरीय सिकाइ तालीम दिने उनले स्पष्ट पारे ।

नगरका उपप्रमुख बसन्ती डंगोल तामाङले टहरामा पठन–पाठन गर्दै आएका विद्यालयहरुले अब राम्रो भवन पाएपछि त्यसमा भवन जस्तै सुन्दर शिक्षण सिकाइ गर्न आग्रह गरिन् । अब निजी विद्यालयमा छोराछोरी नपठाउन आग्रह गर्दै उनले अभिभावकहरुसँग सामुदायिक विद्यालयको मार्केटिङ गर्न सुझाब दिइन् ।

जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंका इकाई प्रमुख अर्जुन रायमाझीले काठमाडौंमा भूकम्प प्रभावित विद्यालयहरुको पुनर्निर्माणले तिब्रता पाएको बताए । अब कोही पनि बालबालिका अस्थायी टहरामा पढ्न नपर्ने भन्दै रायमाझीले काठमाडौंमा केही समयमै विद्यालय पुनर्निर्माणले पूर्णता पाउने स्पष्ट पारे ।

नयाँ भवनमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिने काम विद्यालयको भएको भन्दै उनले यदि गुणस्तरीय शिक्षा दिन सक्दिन जस्ततो लागे पेशा परिवर्तन गर्न शिक्षकहरुसँग आग्रह गरे । ‘अब भवन छैन भनेर बहाना बनाउने छुट छैन’–रायमाझीले भने–‘नयाँ भवन पाएपछि पुरानै शैलीको शिक्षण सिकाइले हुँदैन ।’