दाङमा मतदानमा ५ प्रतिशत मत बदर

दाङ,जेठ,२८-
जिल्ला निर्वाचन कार्यालय दाङले घोराहीमा शनिबार गरिएको नमुना मतदानमा ५ प्रतिशत मत बदर भएको जनाएको छ। घोराहीको बालमन्दिरमा गरेको नमुना मतदानमा १ सय ५१ जनाले भोट हालेका थिए। त्यसमध्ये ८ वटा मतपत्र बदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले जानकारी दिए।

नमुना मतपत्रमा दलहरुका चुनाव चिह्नभन्दा फरक चिह्नहरु हुँदा केही मतदाताहरु अलमलमा पर्दा ५ प्रतिशत बदर देखिएको उनको भनाइ छ। सहभागीहरूले लामो मतपत्र भएकाले र पार्टीका चुनाव चिह्नभन्दा अन्य चिह्न हुँदा अलि झन्झटिलो भएको प्रतिक्रिया दिएका छन्। खसेको मतका आधारमा बदर मतलाई हेर्दा सामान्य अवस्था रहेको र नमुना मत चिह्नका कारण अलमलमा परेको देखिएको निर्वाचन अधिकृत कार्कीको भनाइ छ।

अझै पनि आम मतदाताहरुलाई प्रशिक्षित गराउन सके बदर मतको संख्या घट्ने भएकाले निर्वाचन शिक्षा कार्यकर्ताहरु गाउँमै रहेको कार्यालयले जनाएको छ। मतदाताहरुले सजिलै भोट हाल्न सक्ने अवस्था देखिएको तर असार १४ मा मौसमले भने समस्या पार्ने सम्भावना रहेको कार्यालय प्रमुख कार्कीले बताए। शनिबार महिला पुरुषका लागि लाइन बनाएर नमुना मतदानको  कार्यक्रम हुँदै  गर्दा भएको  वर्षाले निर्वाचनको  समय समस्या भएको थियो ।