एमाले अध्यक्ष ओली चितवनमा, २३ सय प्रतिनिधि सहभागी, १३० पर्यवेक्षक

चितवन,मंसिर,९-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबारदेखि चितवनमा सुरु हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि चितवन पुग्नु भएको छ ।

अध्यक्ष ओलीलाई नेकपा एमालेका नेता तथा कार्यकर्ताले भरतपुर विमानस्थल स्वागत गरेका थिए । एमालेको १० औं महाधिवेशन नारायणी नदी किनारमामा शुक्रबार बिहान उद्घाटन हुँदैछ ।

मंसिर १२ गतेसम्म चल्ने महाधिवेशनको बन्द सत्र भने सौराहामा हुनेछ । महाधिवेशनमा सहभागी हुन क्षेत्रीय प्रतिनिधिहरु पुग्ने क्रम जारी रहेको छ । महाधिवेशनमा २३ सय प्रतिनिधि सहभागी हुनेछन् । यसअघि गत कात्तिक २७ गते देशभरबाट १९ सय ९९ प्रतिनिधि निर्वाचित भएका थिए ।

महाधिवेशनमा १ सय ३० पर्यवेक्षक सहभागी हुने भएका छन् । महाधिवेशनले १५ पदाधिकारीसहित २ सय २५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५÷१५ जना निर्वाचित गर्ने छ ।

प्रतिनिधिका लागि सौराहाका होटलहरु बुक गरेको नेकपा एमालेले ३ हजार ५ सय वटा कोठाका लागि यसअघिनै सम्झौता गरिसकेको छ । क्षेत्रीय होटलसंघ सौराहाका अध्यक्ष दिपक भट्टराइका अनुसार एमालेले सम्झौता गरेको कोठामा शुक्रबारबाट प्रतिनिधिहरु भरिन सुरु हुने जानकारी दिनुभयो ।