काठमाडौं,फागुन,२-नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज बुधबार पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ।नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पपुवा न्युगिनीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ भने पपुवा न्युगिनी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो ।
नेपालले सिरिजको तयारीका लागि श्रीलंकामा ४ अभ्यास खेल खेलेको थियो । जसमा नेपालले ३ खेल जित्दा अन्तिम खेलमा पराजित भएको थियो ।
नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पपुवा न्युगिनीविरुद्ध मार्च २२ मा खेल्नेछ ।
७ टोलि सहभागि रहेको लिग–२ को यात्रामा नेपालले अहिलेसम्म ८ खेलमा ८ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
यस्तो छ , अहिलेसम्मको अंक तालिका
ओमान २७ खेलमा १७ मा जित र ८ मा हार सहित ३६ अंक जोड्दै शीर्षस्थानमा छ । युएई १५ खेलमा ८ मा जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ । नामिबिया १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १३ खेलमा १३ मानै हारका साथ पुछारमा छ ।