पहाडमा आज धुमधामका साथ होली पर्ब मनाईदै,तराईमा भोली मनाईने

फाईल तस्विर !!

काठमाडौं,चैत,३-आज होली पर्व मनाईदैछ्।फागुन शुक्ल पूर्णिमाका दिन बिहीबार रङहरूको चाड फागुपूर्णिमा अर्थात होली मनाईंदैछ । तराई भेगमा भने भोली शुक्रबार भव्यताका साथ होली मनाइन्छ।

वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाडमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने प्रचलन प्राचीन कालदेखि चलि आएको हो।

स-साना बच्चादेखि वृद्ध वृद्धासम्म सबैले होलीको मजा लिने गर्दछन्। होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर एक आपसमा खुसी साट्ने दिनका रुपमा मनाइन्छ ।फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर(विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूर्णिमाको रातमा चीर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

संस्कृतिविद्हरुका अनुसार सत्ययुगमा भगवान विष्णुका भक्त प्रल्हादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भइ असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्व मनाइने गरिएको हो ।

होलीमा प्रयोग गरिने रङहरूको आ-आफ्नै महत्व रहेको मानिन्छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा  रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।