यातायातसँगै अन्य क्षेत्रको सिण्डिकेट पनि अन्त्य गर्छौंः गृहमन्त्री

आन्दोलन गरे यातायात समितिहरुको बैंक खाता रोक्का गरिने

चितवन,बैशाख,५-

गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिण्डिकेट अन्त्यको शुभारम्भ भएको बताउनु भएको छ ।  आज चितनमा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा गृहमन्त्री थापाले गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरेर सिण्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको बताउनुभयो । यातायात सँगसँगै अन्य क्षेत्रमा सिण्डिकेट देखिएमा त्यसलाई पनि रोक्ने सरकार तयार रहेको उहाँको भनाइ थियो।

यातायात क्षेत्र कसैले ठप्प पार्न नसक्ने भन्दै उनले त्यसो गरे कारबाहीको भागिदार हुने समते चेतावनी दिनुभयो । फरक प्रशंगमा उनले शतप्रतिशत साक्षरता अभियान सफल बनाउन आफूहरु पनि लागिपरेको बताउनुभयो । विद्यालय बाहिर कोही बालबालिका नहोस् भन्ने उद्देश्यले सरकारले यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

यसैविच :  सिण्डिकेटविरुद्ध कठोर बन्दै गएको सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक यातायात बन्द गर्ने धम्की दिइरहेका बेला सरकारले यातायातसम्वन्धी समितिहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलनको घोषणा गरेको हो ।

तर सरकारले भने यातायात समितिहरुको कारोबार रोक्का गर्ने तयारी थालेको छ । यसका लागि प्रधानमन्त्री कार्यालय अन्तरगत ल्याएएको सम्पत्ति शुद्धीकरण विभागलाई जिम्मा दिइने स्रोतले बताएको छ । देशभर जिल्ला प्रशासन कार्यालयहरुका दर्ता भएर व्यवसायिक रुपमा कारोबार गर्ने झण्डै साढे ३ सय यातायात समितिको विवरण यातायात व्यवस्था विभागले प्रधानमन्त्री कार्यालयमा बुझाएको छ ।